January 12, 2020
मध्यबानेश्वरमा रहेको ‘द रोमिज गर्ल्स होस्टल’ मा २२ वर्षीया सोसिका शेर्पाको शंकास्पद मृत्यु भएको छ। होस्टलको लापरबाहीका कारण स्नातक पहिलाे वर्षमा अध्ययनरत ताप्लेजुङ मैवाखोला- ४ की २२ वर्षीया शेर्पाकाे मृत्यु भएको परिवारको आरोप छ।
पुस २२ मा दिउँसो बाथरूममा नुहाउन छिरेकी सोसिका अचेत अवस्थामा भेटिएको होस्टलमा रहेका उनका साथीहरूबाट बुझिएको छ। बाथरुम छिरेकी उनी ३ घण्टासम्म बाहिर नआउँदासमेत होस्टलले वास्ता नगरेको अनुसन्धानले देखाएको छ। होस्टलमा न त वार्डेन न त सुरक्षा गार्ड। सामान्य मापदण्डसमेत पूरा नगरेको मध्यबानेश्वरमा रहेको द रोमिज गर्ल्स होस्टेलमा ३० जना छात्रा राखेर सञ्चालन गर्दै आएको पाइयो। होस्टलले पूरा गर्नुपर्ने मापदण्ड कुनै पनि नभएको भन्दै आफ्नो छोरीले अकालमै ज्यान गुमाउनु परेको सोसिकाका बुबा फुर्वा शेर्पाको आरोप छ। उनले भने, 'अरुले मेरो छोरीले जस्तो ज्यान गुमाउन नपरोस्।'
ग्यास गिजर प्रयोग गर्दा अक्सिजन अभावका कारण निसासिएर उनकाे मृत्यु भएकाे हुनसक्ने प्रारम्भिक अनुमान छ। होस्टलको लापरबाहीकै कारण मृत्यु भएको मृतकका काका संगम शेर्पाले दाबी गर्दै सञ्चालकलाई कारबाही गर्न माग गरे। सञ्चालक सीमा न्यौपानेले मापदण्ड पूरा नगरी ३० जना छात्रा राखेर सञ्चालन गरेको पाइएपनि प्रहरीले कुनै चासो नदेखाएको परिवारको आरोप छ। 'गेटमा सुरक्षा गार्ड र होस्टल वार्डेनसमेत नहुनु दुखद हो,' पीडित परिवार भन्छन्, 'छोराछोरीलाई होस्टल राख्दा विचार पुर्याउनु होला। होस्टलमा अत्यावस्यक सामाग्री र भौतिक संरचनाको अभाव छ, मापदण्ड बिना सञ्चालनमा छ।'
मृतक शेर्पाको पोष्टमार्टेमपछि शनिबार दाहसंस्कार गरिएको छ। तर, होस्टल सन्चालिका सोसिकाको दाहसंस्कारमा नआएको र संवेदनशीलता नदेखाएको भन्दै कारबाही गर्न माग गरे। होस्टलको बहानामा काठमाडौंमा छ्याप्छ्याप्ती खुलेका नक्कली होस्टलमाथि तत्काल नियमन गरी कारबाही गर्नुपर्ने माग परिवारकाे छ।